Saturday, November 8, 2014

साइकलमा मुस्ताङ्ग (A Fun Bike Ride in Mustang)

बिहान आठ बजेको थियो, जोमसोम विमानस्थलमा ओर्लंदा। मौसम निकै घमाइलो। विमानस्थलको टुप्पीमा निलगिरि हिमाल। दक्षिण पश्चिम कुनामा धौरागिरि चुचुरो।


अस्ट्रेलियाबाट पहिलोपटक नेपाल आएका बेभेन क्याम्पलाई लिएर जोमसोम पुगेको थिएँ म। त्यहीँ अर्का अस्ट्रेलियन टोनी ओलेनेकीलाई भेटेर हामी मुस्ताङका सुख्खा भू–धरातलमा छ दिने साइक्लिङमा निस्कँदै थियौ। काठमाडौंबाट माउन्टेन बाइक जोमसोम ल्याइएको थियो।

पहिलो खण्ड जोमसोमबाट कागबेनीसम्म छोटो र सजिलो थियो। सडक सजिलो भए पनि मुक्तिनाथ जाने–आउने जीप र बसले उडाउने धुलो अनि १० बजेपछि चल्ने हावाले सास्ती दिन्थ्यो।
अन्नपूर्ण शृंखलाको विशाल पर्खालपछाडि पर्ने नांगा र उजाड चट्टानी पहाड एवं अनौठो भू–बनावट हेर्दै साइकल बेतोडले कुदायौं। ठाउँठाउँमा आराम गर्दै, पानी खाँदै, बेलाबेला, चार पांग्रेलाई बाटो छोड्दै तीन घन्टामा कागबेनी पुग्यौं।

छ वर्षअघि मुक्तिनाथ आउँदा कागबेनी नछिरी फर्कनुपर्दा निकै पछुतो लागेको थियो। यसपटक साइकलमै कागबेनीकै गल्ली गल्ली चहार्दै थिएँ। कागबेनी (२,८०० मिटर) पुरानो गाउँ। तिब्बतसँगको नुन व्यापारको प्रस्थान बिन्दु कागबेनी। यहाँबाट काली तरेर पश्चिम लागे पूर्वी डोल्पा पुगिन्छ। वारिबाटै उत्तरी बाटो समात्दा माथिल्लो मुस्ताङ।


साँघुरो गल्ली, प्राचीन माटाका घर, दरबारका अवशेष, चोक चोकमा बनाइएका छोर्तेन, गुम्बा र हिमाली रहनसहनले पर्यटकलाई लोभ्याउँछ। तेन्पे ग्यात्सेनले सन् १४२९ मा स्थापना गरेको तुपतेन सामफेल लिङ कागबेनीकै सबैभन्दा पुरानो गुम्बा।

दोस्रो दिन बिहानै हामी कागबेनीमाथिको पहाड चढ्दै मुक्तिनाथतिर लाग्यौं। उकालै उकालो। बाटो अप्ठ्यारो नभए पनि कठिन थियो। अघिल्लो दिनजस्तो मोटर र मोटरसाइकलको नाम निशाना थिएन। शान्त थियो। सकेको जति प्याडल चाल्दै, नसकेको उकालोमा साइकल ठेल्दै उचाइ लिदै थियौं। दुई घन्टा उकालो तय गरेपछि हामी एउटा पासमा पुग्यौं। पासको नाम थाहा नभए पनि जिपिएसले हामी झन्डै ३,५०० मिटरमा रहेको जानकारी दियो। चारैतर्फ सुख्खा पहाड र निलो आकाशमात्र थिए। त्यो उचाइमा पुगेपछि समथर बाटोमा साइकल चलाउन पनि उकालो उक्लिएजस्तै कठिन हुने रहेछ। उचाइसँगै हावामा अक्सिजनको मात्रा घट्दै थियो।



अलिकति उकालो चढ्दा त स्वास नै सकिएको जस्तो हुन्थ्यो। बेभेन भन्दै थिए, 'मैले अहिलेसम्म गरेको साइक्लिङमा यो गाह्रो हो।' हामी तीनमध्ये अनुभवी टोनी हामीलाई सिकाउँदै थिए, 'तिर्खा लाग्नुभन्दा अघि नै पानी खानु र भोक लाग्न नदिनु।' उनले हामीलाई बाटोमा पानी नपाउने र आफ्ना लागि कम्तीमा तीन लिटर पानी बोक्न भनेका थिए।

मुक्तिनाथ पुग्न तीन सय मिटर चढ्न बाँकी थियो। पारिपट्टि झारकोटको हरियालीले लोभ्याइरहेको थियो। साइकलको गति केही बढाएपछि अर्को प्राचीन गाउँ पुताक पुग्यौ। पुताक काट्नासाथ कुनै समयमा त्यस उपत्यकाकै राजधानी रहेको झोङ पुग्यौ। माथिल्लो मुस्ताङका राजा आमेपालका छोरा पोनद्रुङ थोग्यालले यस अग्लो स्थानमा किल्ला निर्माण गरेका रहेछन्। अहिले त्यसको भग्नावशेषमात्र देख्न सकिन्छ।
मुक्तिनाथ नजिकिदै थियो। झोङबाट थोरै उचाइ लिएपछि, ओलारो झर्दै एउटा झोलुंगे पुल तर्नेबित्तिकै मुक्तिनाथ आइपुग्छ। ग्ााउँ छिचोल्दै रानीपौवा पुगेपछि त्यस दिनको साइकल हँकाइलाई बिट मारियो।
बेभेनलाई लगातार टाउको दुखेको र हाइ अल्टिच्युट सिकनेसको औषधि खाँदा पनि आराम नभएपछि तेस्रो दिन उसलाई होटलमै छाडेर टोनी र म मुक्तिनाथ क्षेत्र घुम्न निस्कियौं।
होटल फर्कंदा बेभेनको स्वास्थमा सुधार नआएकाले टोनीकै सल्लाहमा उसलाई तल कागबेनी झारियो। हामी दुईचाहिँ चौंथो दिन पनि मुक्तिनाथमै बस्यौं।

बिहान सबेरै हामी लुप्रा पासतिर लाग्यौं। मुक्तिनाथ जाने जीप स्टपबाट दक्षिण पश्चिम सानो पैदल बाटो २० मिनेट डाउनहिल पछि लुप्रा पासको उकालो लागिन्छ। पास पुग्नेबित्तिकै त्यहाँको मनोरम दृश्यले मोहित बनाइहाल्छ। टुकुचे पिक आँखासामुन्ने नाच्न थाल्छ। मनोरम दृश्यमा रमाउँदा रमाउँदै त्यस सर्किटकै जोखिमपूर्ण यात्रा सुरु हुन्छ।

लुप्रा उपत्यका झर्ने पहाड निकै भिरालो र सानो टे्रल भएकाले साइकल लड्ने सम्भावना हुन्छ। डाउनहिल गर्दा अपनाउनुपर्ने सिप र कुशलताले भने यस्ता जोखिम कम गर्न सकिन्छ। डाउनहिल सकेर केही बेर खोला किनारमा चक्का घुमाएपछि लुप्रा गाउँ आइपुग्छ। स्वरूप र रहनसहनमा मुस्ताङी अरू गाउँजस्तै भए पनि लुप्रा यस क्षेत्रकै एकमात्र बोन बौद्ध धर्म अँगालेको गाउँ।
लुप्रा उपत्यकाको मुख्य झोलुंगे पुल पार गरेर उकालो लागेपछि एक्लेभट्टी झर्नुपर्ने हुन्छ। त्यहाँबाट खोला किनारैकिनार जोमसोम पुग्न सकिन्छ तर बेभेन कागबेनीमा हामीलाई कुरेर बसेकाले हामी त्यता लाग्यौं। साढे एक घन्टासम्म साइकल बोकेर ठाडो उकालो उक्लँदा एकपटक त मलाई साइकल नै फ्याँकेर जोमसोमतिर लागौं जस्तो भएको थियो।


यात्रा कहाँ सजिलो मात्र हुन्छ र! कागबेनी पुगेर स्याउको जुससँगै आरामपछि हामी तीनै जना जोमसोम लाग्यौं। त्यो दिनको लक्ष्य मार्फा।
स्याउको राजधानी भनेर चिनिने मार्फा थकाली गाउँ हो। सेतो रङ पोतिएका घर, दाउराले भरिएका छाना र एकछेउमा घाममा सुकाउन उनिएका स्याउका सुकुटी, स्याउ र तरकारी बगैंचा र हरियाली अन्यभन्दा उम्दा।
पाँचौं दिनको यात्रा लामो थियो। मार्फाबाट तातोपानी पुग्न हामीलाई ४० किलोमिटर गुड्नु थियो। उजाड माटो र बालुवाको पहाड र त्यसपछि बुट्यानी ढिस्को पहिल्याउँदै मार्फा पुग्दा हामी धुपीका वन छिरिसकेका थियौ। मार्फापछि टुकुचे, कोबाङ, कालोपानी, लेते, घाँसाको सुन्दरतालाई आत्मसात गर्दै, आँखाभरि टुकुचे निलगिरि, अन्नपूर्ण र धौरागिरिलाई कैद गर्दै कालीगण्डकी किनारैकिनार कच्ची मोटरबाटोमा पाँच दिनमा कमाएको आत्मविश्वाससँगै प्याडल चाल्दै बेलुकी चार बजे तातोपानी पुगियो। दिनभरको थकान तातोपानी कुण्डको डुबुल्कीसँगै हरायो।

छैटौं दिन दुई घन्टाको अन्तिम ल्यापपछि बेनी पुगेर जीपमाथि साइकल थन्क्याएर पोखरा फर्कियौं।
साइकलमा मुस्ताङका हिमाली भू–भाग चक्कर लगाउन सजिलो छैन। घाउचोटदेखि ज्यानै जान सक्ने जोखिम हुन्छ। कालोपानीमा फोटो खिच्न उत्ताउलो भएर पर्खाल चढ्दा ढुंगा खसेर दाहिने खुट्टामा लाग्यो। त्यसपछि बेनीसम्मको यात्रा घाइते खुट्टाले नै गर्नुपर्योप।
काठमाडौं फर्केपछि थाहा भयोे– गोलीगाँठामुनि लिगामेन्ट च्यातिएछ। डाक्टरले खुट्टा प्लास्टर गरिदिए। यात्रा सकिनै लाग्दा भएको चोटले दुःखी त बनायो नै तर घर फर्केको दिन मनाङ, मुस्ताङ र धौरागिरि क्षेत्रमा हिमपातले मानवीय क्षति गरेको खबर सुन्दा मन आत्तियो।
साहसिक क्रियाकलापमा जोखिम हुन्छ नै। जोखिम नै रोमान्चकतामा परिणत हुन्छ। अनि त्यही रोमान्चकता सम्झनलायक हुन्छ, जीवनभरका लागि।


(Published on the Nagarik National Daily, Nov, 8, 2014)

No comments:

Post a Comment